
दुई दिनको प्रदर्शन र सरकारी संरचनामा व्यापक क्षतिपछि आज जेनजी आन्दोलनका प्रतिनिधि वार्तामा बस्ने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाको आह्वानअनुसार आज वार्ता हुने अपेक्षा गरिएको हो यद्यपि, वार्ता को–कोबीच र कतिबेला हुने भन्ने चाहिँ स्पष्ट भैसकेको छैन ।
राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।ले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।
नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुने अपेक्षा छ ।सोमबारदेखि शरू भएको जेनजीको प्रदर्शन उग्र बनेपछि मंगलबार देशभरका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । संघीय राजधानी काठमाडौंमा संसद् भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय आन्दोलनकारीले आगो लगाएर ध्वस्त बनाएका छन् , यसबाहेक देशका अन्य ठाउँमा पनि धेरै सरकारी कार्यालयमा आगजनी गरिएको छ ।
यसअघि सोमबारको आन्दोलनमा प्रहरीको गोली लागेर १९ प्रदर्शनकारीको ज्यान गएको थियो ।आन्दोलन उग्र बन्दै गएपछि मंगलबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि देश सत्ता शून्यताको अवस्थामा छ ।







