नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने छ । त्यसैगरी, भदौ २६ गते बिहान ६ बजे (०६ बजे) सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।

‘निषेधाज्ञा तथा कर्फ्युको दौरान अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन) सञ्चालन हुन सक्नेछ,’ अपिलमा भनिएको छ, ‘आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध गरिन्छ ।’
सेनाले अफवाहको पाछाडि नलागी आधिकारिक सूचनामात्रै सम्प्रेषण गर्न अपिल गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै सम्पूर्ण अवकाश प्राप्त सैनिकलगायत सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न अपिल गरेको हो ।
‘विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुल्क्याइरहनुभएको सहयोगको लागि नेपाली सेना सबै राष्ट्रवासीप्रति कृतज्ञता ज्ञापन गर्दछ । आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुन: गहिरो दु:ख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैमा अनुरोध गरिन्छ,’ अपिलमा भनिएको छ,‘ आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको छ ।’
निर्देशनालयले आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुनेतर्फ समेत सचेत गराएको छ ।
सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिने कुरामा नेपाली सेना विश्वस्त रहेको उल्लेख गरेको छ । ‘जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पुर्याउन हार्दिक अपिल गरिन्छ,’ अपिलमा भनिएको छ ।






