
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा स्थगित गरेको छ ।
सोमबार जेन-जी पुस्ताको आन्दोलन हिंसात्मक बनेपछि त्यसको असर त्रिविका परीक्षामा परेको हो ।त्रिविले सोमबार साँझ एक सूचना जारी गर्दै यही भदौ २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये भदौ २४, २५ र २६ गतेका परीक्षा स्थगित गरेको हो ।
देशमा आकस्मिक रूपमा सृजना भएको असहज परिस्थितिका कारण २०८२ साल भाद्र २४, २५ र २६ गतेका दिन (बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको छ’, सूचना भनिएको छ ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको आकस्मिक बैठकले हाललाई परीक्षा स्थगित गर्दै यी परीक्षा क्रमशः आउँदो असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको छ ।अन्य मितिका परीक्षा यथावत् सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रणमा कार्यालयले जनाएको छ ।







