June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

छुटैछुट शीर्षकमा कर छुट,मदिरामा बढ्यो

वार्षिक अनुमान प्रस्तुत गर्नुहुँदै काठमाडौँ, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत एक दर्जनभन्दा बढी शीर्षकमा कर छुट दिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा पेस गर्नुभएको आर्थिक विधेयक, २०८२ ले लगानी प्रवर्धनको उद्देश्यसहित छुट र सहुलियतलाई प्राथमिकता दिएको छ । स्वास्थ्यका लागि जोखिम मानिएका वस्तुमा बाहेक धेरै करका दर सरकारले यथावत् राखेको छ ।

आर्थिक विधेयकले सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत् महसुल छुट दिने व्यवस्था मिलाएको छ । १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलाग्ने भएको छ ।

विद्युतीय कारोबारमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पनि सरकारले खारेज गरेको छ । विद्युतीय सवारीसाधनमा लगाइएको कर तथा महसुल सरकारले चलाएको छैन । २० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्न अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था पनि सरकारले गरेको छ । ग्रिन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि आयात हुने मेसिनरी उपकरणमा पनि कुनै महसुल नलाग्ने भएको छ । त्यस्तै ग्रिन हाइड्रोजन उत्पादकलाई पाँच वर्षसम्म आयकर छुट पनि प्रदान गरिएको छ ।

मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कका विवरण बुझाउन वा कर दाखिला गर्न नसकेका व्यक्तिलाई विवरण र कर बुझाएमा ब्याज, थप दस्तुर, विलम्ब शुल्क र जरिबाना सहुलियत हुने भएको छ । त्यस्तै सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको उल्लेख छ । नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने भएको छ ।

मदिरा र चुरोटको कर बढ्यो

सरकारले आर्थिक विधेयकमार्फत बिहीबार रातिदेखि नै लागु हुने गरी मदिरा, बियर, सुर्ती र चुरोटमा कर बढाएको छ । खास गरी तेस्रो देशबाट आयातीत मदिरामा ८० प्रतिशतसम्म भन्सार महसुल लगाइएको छ । चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र इलेक्ट्रोनिक चुरोट र भेपमा प्रतिगोटा ३० रुपियाँ स्वास्थ्य जोखिम कर थप भएको छ । तयारी खाने सुर्ती, खैनी, गुट्खा पानमसालामा प्रतिकिलो ६० रुपियाँ कर थपिएको छ । सुन तथा गरगहनाको बिक्रीमा अबदेखि दुई प्रतिशतका दरले विलासिता कर लाग्ने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको