भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज

भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनुभयो । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने उहाँले बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो भन्नुभएको छ ।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएको बताउनु भएको छ ।
२५६९औं बुद्ध जयन्तीको शुभ अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
यस दिन गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।
प्रतिकृया दिनुहोस्