April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

निषेधाज्ञालाई थप कडाइ गर्न उपत्यका फोरमको माग

काठमाडौं– काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञाको समय बुधबार मध्यरातिदेखि सकिँदैछ । उपत्यकामा यही भदौ ३ गतेदेखि एक एक सातामा समय थप गर्दै निषेध आदेश लागु गरिएको हो । भदौको दोश्रो साता लागु गरिएको निषेध आदेशको समय आज रातीबाट सकिन लागेको हो ।

काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई अव कुन स्वरुपमा लैजाने भन्नेमा हिजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल भएको छ । निषेधाज्ञाका बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समेत छलफल गरिसकेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै सरोकारवालासँग परामर्श लिने काम भएकोले त्यसकै आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने जानकारी दिएका छन ।

यसैबीच उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव दिएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध छन । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले सङ्क्रमण बढ्दै गएकोले एक हप्ता थप कडाइका साथ निषेधादेश लागु गर्न सुझाव दिएको बताउनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि अझै कडाइ गर्न सुझाव दिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको