काठमाडौँमा जागरणसभाका लागि एमालेले बनायो संयोजन समिति
एमालेले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ। नेकपा (एमाले) काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौँमा हुने जागरणसभाको तयारीका लागि आज बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो।
पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा जागरणसभा संयोजन समिति गठन गरेको हाे।
समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ।समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहेका छन्।
जागरणसभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा. भट्टराईले जारी गराएका विज्ञप्तिमा उल्लेख छ।
प्रतिकृया दिनुहोस्