May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

अमेरिकाकाे ४७औं राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । यद्यपि ट्रम्प विजयी भएकाे औपचारिक घाेषणा हुन बाँकी नै छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याउनुभएको छ । अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।

यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी हुनुभएको थियो । त्यसबेला उहाँ हिलारी क्लिन्टनलाई हराउँदै पहिलाे पटक अमेरिकाकाे राष्ट्रपति बन्नुभएकाे थियाे । ट्रम्प सन् २०२० मा भने जाे बाइडेनसँग पराजित हुनुभएकाे थियाे ।

यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जित्नुभएको छ ।डेमोक्र्याट दलका किल्ला भनिएका राज्य र मतदाताले जुनसुकै बेला मत परिवर्तन गर्न सक्ने भनिएका राज्यमा ट्रम्पको बलियो उपस्थिति देखिएको छ ।

राष्ट्रपतिमा विजयी भएसँगै डाेनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बधाई दिँदै उहाँसँग काम गर्न तयार रहेको बताउनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग सम्मान र महत्त्वाकाङ्क्षाका साथ काम गर्न तयार रहेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिनुभएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पलाई बधाई दिँदै दुई देशबीचको साझेदारी थप बलियो हुने बताउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू अमेरिका–युक्रेन साझेदारीको दरिलो युगको पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको बताउनुभएको छ ।

ट्रम्पले यसअघि आफू विजयी भएमा रुस–युक्रेन युद्ध केहीबेरमै रोक्न सक्ने जिकिर गर्दै आउनुभएको थियो । अब उहाँले रुस–युक्रेन युद्धलाई कसरी रोक्नुहुन्छ भन्ने चासो बढेको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई दिएको अर्बाैं डलर सहयोगको ट्रम्पले विरोध गर्दै आउनुभएको छ ।

ट्रम्प विजयी भएपछि पत्रकार सम्मेलन गरेर रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रुस–अमेरिकाको सम्बन्ध ऐतिहासिक रूपमा कमजोर रहेको स्वीकार गर्दै वार्ताका लागि भने ढोका खुलै रहेको बताउनुभएको छ । पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिने कुनै योजनाबारे जानकारी नभएको बताउनुभएको छ । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई शक्ति दिइरहेको विषय आफूहरूले नर्बिसने भन्दै उहाँले घटनाक्रमको विश्लेषण गरिरहेको बताउनुभएको छ ।

यस्तै इरानविरुद्ध तत्कालै आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएकाले अहिले मध्यपूर्वमा चर्किएको द्वन्द्व थप बढ्न सक्ने कतिपयको विश्लेषण छ । विश्वको दोस्रो ठूलो शक्तिमा रहेको चीनविरुद्ध पनि ट्रम्पले धेरै नकारात्मक अभिव्यक्ति दिँदै आउनुभएको छ । कोरोना भाइरसलाई चिनी भाइरसको संज्ञा दिनुभएका ट्रम्पको कार्यकालमा चीनसँगको सम्बन्ध सुधार हुन सकेको थिएन । ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति ल्याएर देश निकाला गर्ने चेतावनी दिएकाले अवैध रूपमा अमेरिका पुगेका र पुग्न खोज्ने आप्रवासी प्रभावित हुनेछन् ।

आज विजय निश्चित भएपछि फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताउनुभएको छ । यो चुनावमा रिपब्लिकन दलले राष्ट्रपतिसँगै माथिल्लो सदनमा बहुमत पुर्‍याइसकेको छ । तल्लो सदनमा पनि रिपव्लिकनकै बहुमत आउने सम्भावना बलियो छ ।