May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

ठगी प्रकरणको झटका: चीन भ्रमणमा निस्किएको रास्वपाको १४ टोली तत्काल स्वदेश फर्कदै

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेचीन भ्रमणमा निस्किएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । उनिहरु पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको १४ जनाको टोलीसहित हिजो मध्यरात चीन भ्रमणका लागि उडेका थिए ।

आइतबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा भएको छलफलले चीन भ्रमणबाट नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

भ्रमण टोलीको नेतृत्व गरेका डा. वाग्लेले नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुनसक्ने सम्भावना देखिएकाले तत्काल फर्किन लागेको बताएका छन् ।

सो भ्रमण टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।

यसैगरी, आइतबार बेलुका पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूसँग कुराकानी गर्दै रास्वपा सभापति रवि लामिछानेले कसैको राजनीति बचाइदिन आफुलाइ बलिको बोको बनाएको बताएका छन् । उनले भने, ‘कसैको राजनीति बचाइदिन मलाई बलिको बोको बनाइयो । प्रतिशोध साँधियो‚ हामीले कुनै अराजनीतिक क्रियाकलाप गरेका छैनौँ । हामीले केही बिराएको छैन । भर्खरै आएको दलसँग किन यति डराएको ?’