
काठमाडौं, दिनानुदिन बढीरहेको कोरोना जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लगाउने दिन नआउला भन्न सकिन्न । गत बर्षका दशैँका दिनहरुमा तछाडमछाड गर्दै लाइन बसि नयाँ नोट साटेको हुन्थ्यो । तर मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैङ्कले ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ भनी दिएको बारम्बारको निर्देशन दशैँमा पनि लागू गर्नुपर्ने अवस्था अहिले देखिएको छ ।
कोरोना सन्त्रासका कारण सर्वसाधारणको मात्रै होइन विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझामसाथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताएका छन ।
यसपालि दशैँ आउन अझै समय रहेको हुँदा अहिले नै केही निर्णय लिने अवस्था नभएको भन्दै उनले कोरोनाको विषम परिस्थितिले के कस्तो अवस्था ल्याउँछ अझै हेर्न बाँकी रहेको जनाएका छन । त्यसकै आधारमा नयाँ नोट वितरण गरिने उनले बताएका छन । ‘फाट्टफुट्ट त बाँड्नैपर्ने हुन्छ तर पोहोर सालजस्तो हुँदैन । सकेसम्म सीमित गर्नुपर्ने हुन्छ’ उनको विचार छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपियाँका नयाँ नोट आइसकेका छन् । आगामी असोज १५ सम्म पाँच, दस र बीसका नोट आउने प्रक्रियामा रहेको जनाइएको छ तर कार्ककारी निर्देशक नेपालले भन्नुभयो, “ल्याउने हो अहिले सबै बन्द छ । निर्धारित समयभन्दा केही पछाडि जाला । ” दशैँसम्म एक हजार रुपियाँको समेत गरी ५० अर्ब रुपियाँ बराबरका नयाँ नोट आइसक्ने जानकारी दिएका छन ।







