July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

सिन्धुपाल्चोकमा भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । उक्त घटनामा सात कामदार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो ।

बेपत्ताको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ ।

पत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् ।

यस्तै उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको