प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक २९ गतेसम्म सरेको हो । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

अब २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित भए ।बैठकमा मुख्य सचिव डा। बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएको थियो ।