May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

सन्दीपको निलम्बन फुकुवा निर्णयबारे लिन क्यानको बैठक बस्दै

उच्च अदालत पाटनबाट सफाई पाएसँगै निलम्बन फुकुवाबारे निर्णय लिन नेपाल क्रिकेट संघ (क्यान)को बैठक बस्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्का मुद्दामा आज उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

यसअघि सन्दीप जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरिराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए ।

काठमाडौं जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ता झिकाएर गौशाला २६ बालिग रहेको ठहर गरेको थियो । तर, सन्दीपले गौशाला २६ को कमजोर आर्थिक अवस्थाको ‘नाजायज फाइदा’ उठाएको जिल्ला अदालतको निष्कर्ष थियो ।

जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप क्यानबाट अलग्गिएका थिए । अब क्यानले बैठक बसेर निलम्बन फुकुवा गर्नेबारे निर्णय लिनेछ । क्यानको पदाधिकारी बैठक आजै बस्ने एक सदस्यले जानकारी दिए ।

संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो ।नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । लामिछाने टिमको बिदाइमा पनि सहभागी भएका थिए । अब उनले नेपाली टिमको प्रमुख खेलाडीका रुपमा टिममा सहभागिता जनाउनेछन् ।

विश्वकपका लागि रोहितकुमार पौडेलकाे कप्तानीमा रहेकाे १५ सदस्यीय नेपाली टोली अहिले अमेरिका पुगिसकेकाे छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

शीर्ष समाचार

धेरै पढिएको