बिमस्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक छ : सांसद भट्टराई

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बिमस्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि बिमस्टेकलाई जोड्न जरुरी रहेको बताउनु भयो । उहाँले बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । बिमस्टेक सार्कको विकल्पको रूपमा अघि ल्याइएको हो की भन्ने भान हुन थालेको भन्दै नेपाल यसबाट बच्नुपर्ने बताउनुभयो ।

‘‘पर्यटन प्रवर्द्धनमा हामीले बिमस्टेकलाई जोड्नुपर्नेछ । त्यसैगरी यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि यसलाई अघि बढाउनुपर्नेछ । र पछिल्ला दिनमा जलवायु परिवर्तनको जतिपनि मार नेपालले खेपिरहेको छ । जतिपनि अन्तर्राष्ट्रिय लबिङहरू यो मञ्चमार्फत हामीले गर्नुपर्ने थियो ।

उहाँले भन्नुभयो, ‘‘त्यसमा हामीले जति सफलता पाउनुपर्दथ्यो पाउन सकिरहेका छैनौँ । बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिनुपर्ने छ । कताकता बिमस्टेक सार्कको विकल्पको रूपमा अघि ल्याइएको हो की भन्ने भान छ ।’’ उहाँले छिटोभन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आवश्यक रहेको बताउनुभयो।