
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम ९ नेपाल एयरलाइन्सको एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।
नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।







