बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए सामुहिक राजीनामा
बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिएक छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ राजीनामा दिएको हो ।
कांग्रेसका मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा बुझाए । नेकपा (माओवादी केन्द्र) का नेता जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्री मण्डलमा प्रदेशमा कांग्रेसका ६ जना मन्त्री रहेका थिए ।
सामुहिक राजीनामा बुझाउँदै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले केन्द्रमा सत्तासमीकरण परिवर्तन भएको प्रदेश सरकारलाई बाटो खुला गर्न लोकतान्त्रिक मूल्य मान्यताअनुसार राजीनामा दिएको बताए ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिनुभएको हो ।
नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त हुनुभएको थियो भने अन्य चारजना गत जेठ ७ गते नियुक्त हुनुभएको थियो ।
बागमती प्रदेशमा नेपाल कम्युष्टि पार्टीसहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्तासाझेदार दलहरु एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले सरकार पुनर्गठन गर्नुभएको थियो ।
सङ्घीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा (एमाले) का २७ सदस्य सहित दोस्रो ठूलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।
नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन ।
प्रतिकृया दिनुहोस्