November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

आजैका मितिदेखि कम्युनिष्ट एकताको पहल थालेका छौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उहाँले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”

आज बनेको नयाँ सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँड लगायतको विषय टुंग्याउन कार्यदल गठन भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित वर्षमान पुन, रवि लामिछाने र उपेन्द्र यादव रहेको कार्यदल गठन गरेको हो ।

गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछन् । त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बनेपनि मन्त्रालयमा भागबण्डा नमिल्दा शीर्ष तहबाट सरकारमा सहभागी हुने सम्भावना न्यून बनेको छ । खासगरी गृह मन्त्रालयमा एमाले र रास्वपा दुवै दलको दाबी छ । रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री बनेर पूनः सत्तारोहण गर्ने चाहना राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने गृह मन्त्रालयमा आफ्नो दलको दाबी नरहने भन्दै दुई दलका नेताहरुलाई आपसमा सहमति गरेर मिलाउन भनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति लामिछानेबीच गृहमन्त्रालय कसले लिने भन्नेबारे अहिले केहीबेरमा टुँगो लाग्ने भएको छ । रविको आग्रहमा ओली लचिलो बनेका छन् ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र)ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको