July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

तीन करोड रुपैयाँका योजना प्रदेश र पालिकामा पठाउँछाैँ – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र पालिकामा पठाउनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेकाे माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो । कनिका छरे जसरी बजेट निर्माण गर्दा विकास र समृद्धि हासिल गर्न नसकिने उहाँकाे भनाइ थियो ।

‘रणनीतिक महत्त्वका योजना मात्र सङ्घमा राख्छौँ, तीन करोडभन्दा कम लागतका साना योजना प्रदेश र पालिकाले नै सञ्चालन गर्छन्, बजेटको क्षेत्र तोकेर पठाइन्छ, आयोजना छनोटको अधिकार प्रदेश र पालिकालाई प्रदान गरिन्छ’, उहाँले भन्नुभयो ।

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ । पुराना योजना सम्पन्न गर्न सरकारले हरसम्भव प्रयत्न गर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिनुभयो । यो सरकारको क्षेत्राधिकार भएकाले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने प्रचण्डको भनाइ छ । अब हुने मन्त्रिपरिषद् बैठकपछि सरकारका तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गरिने भएकाले ती विधेयक पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।