December 7, 2024, Saturday
२०८१ मंसिर २३, आईतवार

‘दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्न स्वीकृति

सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधवार बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयक सङ्घीय संसदमा पेस गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रस्तावमा सो विधेयक सङ्घीय संसदमा पेस गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । त्यसैगरी बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रिक्त थियो । त्यो रिक्त पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने भनेर निर्णय भएको छ । अर्को अर्थ मन्त्रालयकै प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ ।’’

अर्को गृह मन्त्रालयको प्रस्तावमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’’

यस्तै मन्त्रीपरिषद् बैठकले गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको