महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
ढोरपाटन महिला भलिबल डबल लिग १६औँ संस्करणको च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म हुने भएको छ । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेल मैदानमा हुने लिगमा नौ टोलीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले जानकारी दिनुभयो । कोरोनाको महामारी र नेपाल भलिबल सङ्घको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न लागिएको पनि छन्त्यालले बताउनुभयो ।
डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने लिगको विजेता टोलीलाई पाँच लाख एक हजार र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जानएको छ । यस्तै तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने टोलीलाई क्रमश: एक लाख २५ हजार, ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र विधागत उत्कृष्टलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिने बताईएको छ । प्रतियोगिताले १५औँ संकरण पार गर्दा हालसम्म विभागीय टोली नेपाल एपीएफ क्लबले सर्वाधिक सात पटक उपाधि चुमेको छ ।
प्रतिकृया दिनुहोस्