July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

पाल्पाको सत्यवती जोड्ने गोरबन्दीघाट पुल निर्माणमा ढिलाइ

पाल्पाको सत्यवती जोड्ने गोरबन्दीघाट पुल निर्माणमा निकै ढिलाइ भएको छ। ठेक्का गरेको तीन वर्ष पुग्न लाग्दासमेत निर्माणको १० प्रतिशत मात्र काम भएको छ । निर्माण व्यवसायी र पुल डिजाइनमा देखिएको समस्याका कारण पुल निर्माणको काममा ढिलाइ भएको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ साल फागुनमा दुई वर्षभित्र पुल बनाउने ठेक्का सम्झौता भएको थियो ।पूर्वस्वीकृत डिजाइन अनुसार काम हुने भए पनि पुलमाथि नै खोला पसेपछि पुनः डिजाइन गरिएको छ। प्राविधिक डिजाइनमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा तीन वर्षमा केही काम हुन सकेन ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख वासुदेव भण्डारीले पहिले डिजाइन गरेको स्टिमेट परिवर्तन गर्दा पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुनः नयाँ डिजाइन अनुसार काम अगाडि बढेको छ, गत वर्ष पुलको जग बनाउने काम भएको छ र ठेकेदारले एक करोड २६ लाख भुक्तानी लिइसकेका छन् ।” यो वर्षदेखि गोरबन्दीघाटको पुल निर्माणले गति लिने कार्यालय प्रमुख भण्डारीको भनाइ छ । गोरबन्दीघाटमा तिनाउ खोला तर्ने पुल नहुँदा स्थानीय बर्खामा चार महिनासम्म यातायातको पहुँचबाट वञ्चित हुने गरेका छन् ।

उक्त स्थानमा अझै पुल बन्न नसकेको वडा नं. ४ का अध्यक्ष तुलबहादुर आलेले बताउनुभयो। ‘पुल नभएकै कारण वर्षा लागेपछि वडाका बासिन्दा चार महिनासम्म यातायातको सम्पर्कबाट बिच्छेद हुन बाध्य हुने गरेको उहाँले बताउनुभयो ।

सिद्धार्थ राजमार्ग नजिकै रहेको वडा भए पनि तिनाउ र झुम्सा खोलामा पुल नहुँदा तिनाउको वडा नं. ४ सहित माथागढीको वडा नं. ५ का बासिन्दा प्रभावित बनेका छन् । पुलका कारण गिजनचउर, छाँप, सत्यवती, माथागढीको बोम्सेडाँडा, धामिघा, सिमलेका पाँच सय परिवार पैदल हिँडेर पालिका केन्द्र पुग्न बाध्य हुने गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको