December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

माओवादीसँग एकता गर्न बाबुराम बाबुरामलाई दबाब

माओवादी केन्द्र सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाउनुभएको हो ।

नेसपा केन्द्रीय समिति बैठक मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गर्नुभयो । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उहाँले बताउनुभयो ।

पार्टीभित्र दबाब थेग्न नसकेपछि बाबुरामले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नियमित भेटघाट जारी राख्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ पार्टी एकता गर्न लचिलो भए पनि बाबुरामले पार्टीको नाम, चुनाव चिह्न, वैचारिक पक्ष र पार्टीमा आफ्नो हैसियत सुनिश्चित गर्न खोजेकाले समझदारी बन्न सकेको छैन ।

आइतबार पार्टी एकतालाई तत्काल टुङ्गो लगाउन दबाब दिन माओवादी केन्द्रका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेसपा सहअध्यक्ष एवं वार्ता समितिका संयोजक श्रेष्ठले दुवै पक्षबाट पार्टी एकता संयोजन समिति गठन गरेर वैचारिक र नीतिगत विषय तत्काल टुङ्गो लगाउने समझदारी गर्नुभएको छ । महरा र श्रेष्ठले दुवैले हस्ताक्षर गरी एकता संयोजन समितिमार्फत पार्टी एकता गर्न पार्टीको नाम, विधान, सङ्गठनात्मक संरचना र चुनाव चिह्न टुङ्गो लगाउन सुझाउनुभएको छ ।

नेसपा सहअध्यक्ष श्रेष्ठले गत वर्षको चुनावमै पार्टी एकता गर्ने गरी एउटै चुनावमा लडे पनि विविध कारणले ढिला भएको स्वीकार गर्नुभयो । “हामीले पार्टी एकता गर्ने भनेरै एउटै चुनाव चिह्न लिएर लड्यौँ । यसबिचमा एकता सुस्ताएको जस्तो भयो,” उहाँले भन्नुभयो, “हाम्रो पार्टीको ६ र ७ गते बैठक बस्दै छ । त्यो बैठकमा एकताको विषय उठ्छ । त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ ।” उहाँले आफूहरू माओवादीसँग छिटोभन्दा छिटो एकता होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।

सहअध्यक्ष श्रेष्ठले नेसपालाई समाजवादी मोर्चामा छुटाएपछि बिग्रेको सम्बन्ध एकता संयोजन समिति बनाउने अवस्थामा आएको बताउनुभयो । “समाजवादी मोर्चा बनाउँदा नेसपालाई समेटेको भए । एकता गर्न सजिलो हुन्थ्यो । त्यसबेला नेसपालाई छुटाएपछि वातावरण असहज जस्तो हुन पुग्यो,” उहाँले भन्नुभयो, “अब पार्टी एकता संयोजन समिति बनाएपछि सबै हल हुन्छ भन्ने वार्ता समितिको बुझाइ छ ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाबुराम नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने गरी नियमित छलछफल भइरहेको बताउनुभयो । उहाँले पार्टी एकता संयोजन समिति बनाएर क्रान्तिकारी कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

“प्रधानमन्त्रीले आइतबार बिहान विप्लवसँग छलफल गर्नुभयो । बाबुराम सरसँग बेलुका छलफल गर्नुभयो । पार्टी एकता गर्न संयोजन समिति बनाएर जाने समझदारी भएको छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले बाबुराम सरलाई एकतामा छिटो आउनुप¥यो । ढिला गर्नु भएन भन्नुभयो । उहाँ (बाबुराम) ले पार्टी बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।” उहाँले बाबुराम नेतृत्वको नेसपा र विप्लव नेतृत्वको नेकपासँगको एकताले छिट्टै परिणाम दिने विश्वास व्यक्त गर्नुभयो ।

एकता गर्न विप्लवसँग छलफलमा

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पछिल्लो समय विप्लव समूहसमेत माओवादीसँग नजिकिएको बताउनुभयो । आइतबार रुकुमपूर्व पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले बाबुराम मात्रै नभएर विप्लवसँग समेत एकताका विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो । “विप्लवसँग आज (आइतबार) बिहान मात्रै छलफल भयो ।

बाबुरामसँग पनि निरन्तर संवाद भइरहेको छ,” उहाँले भन्नुभयो, “विगतको जस्तो विभाजित भएर नभई एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ ।”

उहाँले पटक पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराशा छाएको बताउनुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले माओवादी विभाजन भएपछि जनयुद्धमार्फत प्राप्त भएका उपलब्धि हराउँदो रहेछ भन्ने आफूलाई परेकाले एकताको विकल्प नभएको उल्लेख गर्नुभयो ।

शीर्ष समाचार

धेरै पढिएको