तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेल्न सुरु
तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेल्न पनि सुरु हुँदैछ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् ।भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।
भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको मानिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त चाड तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड ।
हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । आज लक्ष्मी पूजाको दिन झिलीमिली बत्तिले घरहरु दुलही झैं चिटिक्क सिंगारिएका छन् ।
काठमाडौँका सडकसँगै घर एवं व्यावसायिक घराना समेत झिलिमिली पारिएका छन् । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पार्ने प्रचलन रहीआएको छ ।
साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अजम्बरी अनुभूति प्रदान गर्दछ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।
यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश यो पर्वले दिने विश्वास गरिन्छ ।
प्रतिकृया दिनुहोस्