पश्चिम नेपालमा लगातार भूकम्प- कात्तिक २२ गतेदेखि अहिलेसम्म १८ ठूला धक्का
पश्चिम नेपालमा लगातार ठूला भूकम्पहरु गएका छन् । एक वर्षमा पश्चिम नेपालमा १८ वटा ठूला भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार गतवर्ष कात्तिक २२ गतेदेखि अहिलेसम्म ५ रेक्टरस्केल माथिका १८ वटा भूकम्प गएका छन् ।
पश्चिम नेपालका जाजरकोट, बझाङ्, बाजुरा, डोटी, बाग्लुङ् धादिङ र दोलखा जिल्लामा केन्द्रबिन्दु गराएर ५ रेक्टरभन्दा माथिका १८ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । एक बर्षमा सबैभन्दा बढी बझाङ् केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ ।
बझाङ् केन्द्रबिन्दु भएर २०७९ कात्तिक २६ गते ५.४ रेक्टरस्केल, २०८० असोज १६ गते ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही दिनमै करिब एक घण्टाको अन्तरमा ६.३ र ५.१ रेक्टरस्केलको भूकम्प गएको तथ्यांक छ । त्यसपछि उक्त क्षेत्रमा १०० बढी पराकम्पहरु गएका छन् ।
यस्तै, बाजुरा जिल्लामा २०७९ माघ १० गते ५.९ रेक्टरस्केल, २०७९ फागु्न १० गते ५.२ रेक्टरस्केल, २०८० बैशाख १५ गते ५.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ ।
सुदूरपश्चिमकै जिल्ला डोटी केन्द्रबिन्दु भएर २०७९ कात्तिक २२ गते ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो । २०७९ पुस १३ गते बाग्लुङ् केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । यसबेला पनि पराकम्पनहरु निरन्तर आइरहेका थिए । २०७९ चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प गएको छ ।
२०८० कात्तिक ५ गते धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही दिन नै उक्त क्षेत्रमा ५.१ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको थियो । त्यसपछि उक्त क्षेत्रमा लगातार पराकम्प गएका थिए ।
हिजो शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर अर्को ठूलो भूकम्प गएको छ । राति ११ः ४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको ठूलो भूकम्पपछि त्यहाँ पनि लगातार १७५ बढी परकम्पहरू गइसकेका छन् ।
पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठूलो जोखिम रहेको विज्ञहरूले बताउँदै आउनुभएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले पश्चिम नेपाल भूकम्पको जोखिम क्षेत्र नै भएकाले भूकम्प निरन्तर गइरहेको छ ।
यी ठूला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा चारदेखि पाँच म्याग्निच्युडबीचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू ८२ वटा गइसकेको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्