November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

एमालेको चियापान कार्यक्रम – प्रधानमन्त्री गायतका शीर्ष नेताहरूको सहभागी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको छ ।

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड अपराह्न पौने ३ बजेतिर सहभागी हुनुभएको हो ।

चियापान कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेताहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूसहितको बाक्लो उपस्थिति रहेको थियो ।

एमालेले बडा दसैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष (हिजो) कात्तिक १४ गते आयोजना गरिएको सो कार्यक्रम संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिन पछि (आज) सारिएको हो । चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताहरूको घुइँचो लागेको छ । अध्यक्ष ओलीलाई भेटन ज्येष्ठ नागरिकहरू पनि उत्साहका साथ कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले जहिल्यैपनि नेपालका दलहरुलाई एकै ठाउँमा ल्याउन पहल गरेको दाबी गरेका छन् । उनले पछिल्लो समय दलहरुबीच विश्वासको वातावरण बन्दै गएको पनि दाबी गरे ।

दसैं, तिहार, छठ र नेपाल सम्वतलगायतका चाडपर्वको अवसरमा एमालेले आज आयोजना गरेको चियापानमा सहभागी भएपछि मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । यसअघि उनले कांग्रेसको चियापानमा पनि छिट्टै सबै दलहरुको बैठक बस्ने र परिवर्तनविरोधी शक्तिहरुलाई जवाफ दिने बताएका थिए ।

एमालेको चियापानमा उनले यस्तो भनेका छन्–‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु।’

सो क्रममा उनले आफूले कसैविरुद्ध पनि लाखौं जनता सडकमा उतार्छु नभनेको स्पष्ट पारे । उनले भने,‘अहिले हाम्रो पार्टीको देशभरि नै कडा स्तरमा जनपरिचालन कार्यक्रम चलिरहेको छ । त्यसैलाई पालिका र ३ वटा प्रदेशले मिलेर काठमाडौंमा एकैपटक जनपरिचालन गर्ने भन्न खोजेको हुँ । यसैलाई मिडियाले गलत ढंगले प्रचार गरे ।

शीर्ष समाचार

धेरै पढिएको