May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

पर्वतको जुकेपानी गाउँका दलित समुदायमा खानेपानीको हाहाकार

पर्वतको जुकेपानी गाउँका दलित समुदायले खानेपानी घर घरमा पुर्‍याउनका लागि निर्माण गरिएको पानी ट्याङ्की यतिबेला अलपत्र अवस्थामा छ। चार वर्षअघिबाट जनश्रमदानमा ट्याङ्की बनाएको भए पनि पाइप नहुँदा ट्याङ्कीमा पानी खसाल्न पाएका छैनन्।

गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार छ। ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलित बस्तीका बुढाबुढीदेखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए। सबैको आशा थियो कि अब खानेपानी लिन जानका लागि घण्टौँ उकालीओराली गर्नुपर्ने छैन। करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएका कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।

स्थानीय युवा भीमबहादुर विश्वकर्मा भन्नुहुन्छ, “हामीलाई ‘एक घर एक धारा’ भनी चुनावमा भोट माग्नुभयो। भोट दिएर स्थानीय रामचन्द्र जोशी मेयर हुनुभयो तर कहिले पनि यो दलित बस्तीमा फर्केर आएर हाम्रो समस्या सुन्न पनि चाहनु हुँदैन।” पर्वतको कुस्मा नगरपालिका–१ को जुकेपानी भन्ने जलजला गाउँपालिकाको सिमानामा पर्ने दुर्गम स्थल हो। जुकेपानीमा रहेका दलित बस्तीकी वृद्ध महिला सरस्वती विश्वकर्माले खानेपानीका लागि घण्टौँ हिँड्नु परेको दुःखेसो पोख्दै भन्नुभयो, “डोको बोकेर पानी लिन टाढा आर्य खाल्डामा जानु पर्छ ।”

त्यहाँ पनि कमेरेसहितको माटो तर्काएर पानी डुबाउँदा गाग्री भर्न पनि आधा घण्टा लाग्छ। जुकेपानीको दलित बस्तीको १२ घरमा करिब ७० जना दलित सदस्यको बसोबास छ। आर्थिक रूपमा विपन्न दलित बस्तीका अधिकांश सदस्य किसान र ज्याला मजदुरी गर्छन्। आर्थिक रूपमा विपन्न किसान र मजदुरको मागको सुनुवाइ कहीँकतैबाट भएको छैन।

कुस्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलले दलित बस्तीमा खानेपानीको समस्या टड्कारो रहेको उल्लेख गर्दै भन्नुभयो, “भूकम्प जानु पहिले दलित बस्तीभन्दा केही पर रहेको पानीको मुहानबाट सानो भए पनि पानी आउने गर्दथ्यो ।”

शीर्ष समाचार

धेरै पढिएको