December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

समाजवादी मोर्चालाई एउटै पार्टी बनाउने प्रचण्डको योजना

समाजवादी मोर्चा नेपाललाई पार्टीको रूपमा एउटै केन्द्र बनाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रणनीतिमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘रातो झण्डा’ देखाइदिएका छन् । गत असारमा गठित मोर्चालाई समाजवादी केन्द्र बनाउने प्रचण्डको योजना जसपा अध्यक्ष यादवले अस्वीकार गरिदिएका हुन् ।

अध्यक्ष यादवले जसपा कम्युनिष्ट पार्टी नभएको र हुन पनि नसक्ने स्पष्ट पारेका छन् । वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिस्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन नसक्ने उनको भनाइ छ ।

गत असोज २९ गते धनगढीमा आयोजित मोर्चाको सन्देश सभामा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई एउटै केन्द्रको रूपमा परिणत गर्ने लक्ष्यका साथ अघि बढेको बताएका थिए । सभामा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि उपस्थित थिए ।

अहिलेको गठबन्धन सरकार रहेसम्म मात्र जसपा मोर्चामा रहने र पछि मोर्चाबाट अलग हुने सन्देश उपेन्द्रले प्रचण्डलाई दिइसकेका छन् ।
प्रचण्डले धनगढीमा भनेका थिए, ‘हामी समाजवादी मोर्चामा जसरी अहिले छौं, हाम्रो मोर्चा नै हाम्रो अन्तिम उद्देश्य होइन । यो मोर्चालाई एउटै पार्टी केन्द्रमा लैजाने हाम्रो रणनीति हो । र, यसमा सबैले मद्दत गर्न जरुरी छ । आन्दोलनलाई एउटै शक्तिशाली केन्द्र बनाउनुछ । र, यो देशको नेतृत्व हामीले लिनु छ । हामीले नेतृत्व लिए मात्रै यो देश बन्छ अन्यथा यो देश बन्ने छैन ।कहिले काहीं हामीले सानो चित्त देखाउँछौं । एक अर्कालाई माइनस गर्ने, अपमानित गर्ने प्रवृत्ति देखिन्छ । म मोर्चाका सबै पार्टीका मित्रहरूलाई के अनुरोध गर्न चाहन्छु भने मित्रहरूले नराम्रा के हुन् भन्ने भन्दा राम्रा कुरा के हुन् भन्नेमा ध्यान दिनुस् । हामी मित्र हौँ भने त मित्रलाई सहयोग पो गर्ने हो हुमिलियेट गर्ने होइन नि ! अलिकति घाउ देखिएमा मलमपट्टी पो गर्ने हो, घाउलाई त्यहीं चिथोर्न त भएन नि । नुन चुक छर्दिनुभएन । मित्रहरू बीचको सम्बन्ध मित्र जस्तै हुनु पर्यो । सहयोगी हुनु पर्यो ।

एक अर्कालाई मद्दत गर्नु पर्यो । सदभाव हुनु पर्यो । असहिष्णु हुनु भएन । यो मोर्चा अहिले भर्खर गठन भएको छ । सातै प्रदेशमा प्रदेश सन्देश सभा तथा घोषणा सभा सफलताका साथ सम्पन्न गरेका छौं । अब आउने दिनमा जिल्ला स्तरमा र सडकमा आन्दोलन गरेर जानुपर्छ । यो समाजवादी मोर्चालाई रणनैतिक मोर्चाको रूपमा, एउटा नयाँ विकल्पको रूपमा मोर्चा बनाउन सबैले आ-आफ्नो ठाउँबाट पहल गरौँ ।’

धनगढीमा प्रचण्डले मोर्चालाई केन्द्र बनाउने घोषणाको जवाफ उपेन्द्रले सामाजिक सञ्जाल फेसबुकबाट फर्काएका छन् । उनले आफू पहिचान सहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक-आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन नसक्ने बताएका छन् ।

‘जनता समाजवादी पार्टी, नेपाल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी हो । कम्युनिस्ट पार्टी होइन र हुन पनि सक्दैन । यसमा कसैलाई भ्रम नरहोस् । समाजवादी पार्टी र कम्युनिस्ट पार्टीहरूबीचको मोर्चा अथवा समाजवादी मोर्चा हो । वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन पनि सक्दैन,’ यादवले फेसबुकमा लेखेका छन्, ‘ समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरू बीच सहकार्य र मोर्चा मात्र हुनेछ । हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक आर्थिक शोषण-उत्पीडनका साथै वर्गीय जातीय र लिंगका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचान सहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक-आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिन्न । यस सम्बन्धमा कसैलाई कुनै भ्रम अथवा दुविधा नहोस् ।’

जसपा प्रवक्ता मनिष सुमनले पनि समाजवादी मोर्चा पार्टीमा रूपान्तरण हुन नसक्ने बताए । पार्टी एकीकरणको विषयमा अहिलेसम्म आफूहरूले केही नसोचेको उनले बताए । ‘यो समाजवादी मोर्चा मात्र हो । पार्टी एकीकरणको विषयमा अहिलेसम्म हामीले केही सोचेका पनि छैनौं,’ ‘सुमनले लोकान्तरसँग भने, ‘जुन पार्टी स्थापित हुन सकेका छैन तिनीहरूलाई शंका हुन सक्ला र पार्टी एकीकरणको कुरा गरिरहेको होला । तर, हाम्रो पार्टी स्थापित पार्टी हो । हाम्रो आफ्नो छुट्टै अस्तित्व छ ।’

मोर्चा कम्युनिस्ट पार्टीबीचको मोर्चा नभएर समाजवादको जगमा मात्र बनेको उनले बताए । ‘मोर्चामा रहेका घटक दलहरूको इष्टदेवता कार्ल मार्क्स, लेनिन, माओवाद हो । हाम्रो इष्ट देवता मधेशवादका नेताहरू हुन् । मधेश आन्दोलनका शहीदहरू हुन्,’ सुमनले थपे, ‘त्यसैले मोर्चामा रहेका कम्युनिस्ट पार्टीहरू र हामी जसपामा कुनै पनि विचार र सिद्धान्त नै पनि मिलेको छैन । एकीकरण हुने कुरा नै होइन ।’

जसपा मोर्चामा मात्र सामिल भएको तथा कुनै पनि निर्णय गर्न जसपा छुट्टै पार्टीको रूपमा स्वतन्त्र रहेको उनले बताए । ‘हामी अहिले गठबन्धनको सरकारमा छौं । भोलि नहुन पनि सक्छौं,’ उनले थपे, ‘भोलि चुनाव लड्ने कुरा भएमा पनि हामी आफ्नो तरिकाले जान सक्छौं ।’

समाजवादी मोर्चामा रहेका दलहरूले भोलि छुट्टै नेकपा समाजवादी केन्द्र बनाए जसपा त्यसमा सामिल नहुने उनले प्रष्ट पारे। ‘कम्युनिस्ट पार्टीको रूपमा पार्टीको नाम नराखी प्रस्ताव हुने हो भने त्यति बेला पार्टीको नाम, झण्डा, चुनवा चिह्न, एजेण्डा आदिमा कुरा हुन सक्छ,’ सुमनले थपे, ‘तर, अहिले त्यो विषयमा हामीबीच केही पनि कुरा भएको छैन ।’

जसपाका एक नेताका अनुसार अहिलेको गठबन्धनको सरकार रहेसम्म मात्र जसपा समाजवादी मोर्चामा रहने र पछि मोर्चाबाट अलग हुने सन्देश उपेन्द्रले प्रचण्डलाई दिएका छन् । ‘अहिलेको प्रचण्ड नेतृत्वको सरकारबाट उपेन्द्र यादव आफै सशंकित हुनुहुन्छ,’ जसपाका ती नेताले लोकान्तरसँग भने, ‘प्रचण्ड नेतृत्वकै सरकारले गौर घटनाको अनुसन्धान गर्न तथा मुद्दा चलाउन पीडित पक्षसँग सहमति गरेदेखि प्रचण्ड र उपेन्द्रजीबीच विश्वासको संकट बढेको हो ।’

उसो त यही सरकार रहिरहोस् भन्ने उपेन्द्रको चाहना पनि होइन । बाध्यतावस यस सरकारमा जसपा रहिरहेको जसपाकै एक अर्का नेता बताउँछन् । ‘केपी शर्मा ओलीले यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याओस् र सरकार परिवर्तन होस् भन्ने चाहना उपेन्द्रजीको हो,’ उपेन्द्र निकट ती नेताले लोकान्तरसँग भने, ‘कोशी प्रदेश सरकार गठनमा जसरी एमालेले शेखर कोइरालाको साथ पाएर चक्मा दियो । त्यसैगरी संघको सरकारमा पनि एमालेले चक्मा दिने अवस्था आए उपेन्द्रजीले ओलीजीलाई साथ दिनुहुन्छ जस्तो मलाई लाग्छ ।’

कोशी सरकार गठन हुनुअघि उपेन्द्र र ओलीबीच भेटघाट भएको उनको दाबी छ । अहिलेको संघीय सरकारमा जसपा सामिल भए पनि जसपा अध्यक्ष यादव आफैँ नभएकोले पनि उपेन्द्रमा असन्तुष्टि देखिएको छ । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिन खोजे प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी ऐनलाई सक्रिय पारी जसपा नै फुटाइदिनसक्ने हुनाले उपेन्द्रजीले खुलेर प्रचण्डको विरोध गर्न सक्नुभएको छैन,’ ती नेताले थपे, ‘उपेन्द्रजीले विरोध गर्नु भयो भने अशोक राईको नेतृत्वमा जसपा फुटाइदिनुहुन्छ । किन भने प्रचण्डजीले अशोक राई, राजेन्द्र श्रेष्ठ सहित जसपाका विभिन्न नेता र सांसदहरूसँग छुट्टाछुट्टै भेटेर आफ्नो पक्षमा पारिसक्नु भएको छ ।’

परिस्थिति आफ्नो अनुकुल नभएकोले मात्र उपेन्द्र समाजवादी मोर्चा र सरकारबाट नबाहिरिएको उनले बताए ।अहिलेकै सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्न पाएको भए उपेन्द्र सन्तुष्ट हुन सक्थे । तर, त्यस्तो अवस्था नरहेकाले तत्कालका लागि उपेन्द्र ब्याक भएको जसपाका कतिपय नेताको बुझाइ छ । लाेकान्तरबाट

शीर्ष समाचार

धेरै पढिएको