आज फूलपाती-गोरखा दरवारको दसैँ घरबाट हनुमानढोका दरवारका लागि फूलपाती पठाइयो
गोरखा दरवार स्थित दसै घरबाट काठमाडौंको हनुमानढोका दरवारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरीे आज बिहान ८ बजेको शुभसाइतमा फूलपाती सहितको डोली हनुमान ढोका दरवार पठाइएको गोरखा दरवारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
दरवारका सुसारेले फूलपातीको डोली बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरवार पठाएका हुन् । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरवार पुर्याएपछि आज साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरवारमा फूलपाती भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो ।
गोरखा दरवारको दसैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरवारबाट राजकाज सुरु गरेदेखि वर्षेनी वडादसैँको सातौ दिन गोरखा दरवारको दसैँघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरवारमा पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको मूलपुरोहित भट्टराईको भनाई छ ।
गोरखा दरवारको दसैँ घरबाट फूलपातीको डोली दरवारका सुसारेहरुले बोकेर ल्याई गाडीमा राखेर हनुमान ढोका दरवार पठाइएको हो । दरवारस्थित दसै घरबाट बाजागाजा सहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाई गरिएको उहाँले बताउनुभयो ।
गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ लगायतले दरवारबाट फूलपातीको बिदाई गरेर पठाउनु भएको हो ।
प्रतिकृया दिनुहोस्