हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको शव तत्काल ल्याउन माग

प्रतिनिधिसभाका सांसदहरूले प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धार गर्न सरकारसँग माग गरे ।

एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकार भएको अनुभूति गराउन आग्रह गरे । “बङ्करमा होस् या बाहिर होस् । नेपालीहरू दुईवटा कुरा पर्खिएर बसेका छन्– एउटा उद्धार अर्को मृत्यु । नेपालमा राज्य छ भन्ने महसुस छैन,” उनले भने, “मृत्युको मुखमा पुगेका नेपालीहरूलाई मेरो देश छ भन्ने अनुभूति गराउनुपर्‍यो । उनीहरूको उ‍द्धार गर्नुपर्‍यो ।”

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मृतकको शव ल्याउन, घाइते र त्यहाँ रहेका अरूको उद्धार गर्न माग गरे ।“१० जनाको शवलाई तुरुन्त काठमाडौं ल्याउने । धेरै आफ्नो देशमा फर्काऊ भनेर आर्तनाद गरिरहेका छन् । इजरायलमा रहेको नेपालीको यकिन गरी घाइते भएकाको उपचारको व्यवस्था र नेपाल फर्काउन सरकारले तत्कालै युद्धस्तरमा काम गरोस्,” केसीले भने । गएको शनिबार (असोज २० गते) हमासको आक्रमणबाट इजरायलमा १० नेपालीको मृत्यु भएको थियो ।

राप्रपाकी सांसद अनिशा नेपालीले छिमेकी देश भारतले इजरायलमा रहेका आफ्ना नागरिकको उद्धार गरेको दाबी गर्दै नेपाल सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।

जनमत पार्टीका सांसद अब्दुल खानले पनि उद्धार र राहतको व्यवस्था मिलाउन माग गरे ।त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पनि उद्धार हुन चाहेकाहरूलाई सरकारले पहल गरेर नेपाल ल्याउन माग गरे ।