झाङमा भूकम्पका परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने
बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपश्चात राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्रीले भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनुभएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै मृतक परिवारलाई तत्काल दुई लाख सहयोग प्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी, भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने पनि बताउनुभयो ।त्यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।
गत मङ्गलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकिन गरिनेछ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।
भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइनेछ ।
सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको गरी यथाशीघ्र पुनर्निर्माण गरिनेछ ।हालसालै गएका थुप्रै भूकम्पहरूलाई जोखिमको पूर्व सङ्केतको रूपमा लिँदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आंकलन न्यूनीकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको छ । यी कामहरूलाई बझाङलगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइनेछ ।
बझाङ र सुदूर पश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने कैयन परियोजना अघि बढाइएका छन् । हालै मित्रराष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपालतर्फ दिपायल–खुटिया–उरै–ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चित गरिएको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् ।नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत् परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ ।
भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयोग प्रदान गर्न खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, दातृसंस्था, निजी क्षेत्रलगायत सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागि समेत आह्वान गर्दछु ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पनि हुनुहुन्छ ।बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।
प्रतिकृया दिनुहोस्