November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

एमाले उपत्यका प्रदेश कमिटी अधिवेशन लोगो सार्वजनिक

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गर्नुभएको हो ।सो अवसरमा इन्चार्ज शाक्यले पार्टीको सङ्गठनात्मक कामलाई प्रणालीगत बनाई आगामी निर्वाचनमा पहिलो दल बनाउने गरी काम गर्न मातहत कमिटीका सदस्यहरूलाई आव्हान गर्नुभयो ।

वर्तमान गठबन्धन सरकारले जनतालाई महँगीबाहेक केही नदिएको टिप्पणी गर्नुहुँदै इन्चार्ज शाक्यले एमाले नेतृत्वको सरकारले मात्र जनता र देशको पक्षमा काम गर्ने बताउनुभयो । त्यसका लागि आगामी निर्वाचन २०८४ मा एमालेलाई जिताएर सरकारको नेतृत्व गर्ने ठाउँमा पुगाउन जनतालाई उहाँले आग्रह गर्नुभयो ।

“हामी देशको नेतृत्वमा जान सक्यौँ भने मात्र समृद्ध नेपाल र सुखी नेपाली हाम्रै पालामा सम्भव हुन्छ” उहाँले भन्नुभयो । उहाँले प्रदेश कमिटीको अधिवेशनमा प्रतिनिधि बन्नबाट छुट्नु भएकालाई पनि पार्टीले उचित जिम्मेवारी दिनेभन्दै निराश नहुन आग्रह गर्नुभयो ।

अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ । अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने सो अवसरमा जानकारी दिइएको छ । गैरभूगोलका विशेष क्षेत्र पेसा, व्यवसाय, विद्यार्थी र मजदुर क्षेत्रको छाता सङ्गठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई त्यही उचाइका साथ भव्य, सभ्य र उच्च संस्कारमा सम्पन्न गरी उदाहरणीय बन्नुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न जनपरिचालनमा जोड दिनुहुँदै सभागृहमा हुने उद्घाटनसत्रमा सक्रियता साथ सहभागी हुन कमिटी मातहतका सबै सदस्यहरूलाई आव्हान गर्नुभयो । ऐतिहासिक अधिवेशन भएकाले सन्देश दिनेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । १९ गते शुक्रबार हुने उदघाटनसत्रको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने पनि उहाँले जानकारी दिनुभयो ।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति रहेको थियो । प्रथम अधिवेशनको लोगो प्रदेश कमिटी प्रचार उपसमितिका सदस्य महेन्द्र श्रेष्ठले डिजाइन गर्नुभएको हो ।

शीर्ष समाचार

धेरै पढिएको