June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिदै अमेरिका

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउने योजना बनाएका छन् । यसले कीभलाई उसले चलिरहेको प्रतिकारात्मक कारबाहीमा मद्दत गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

एनबीसी न्यूज र द वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बाइडेनले आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीलाई कीभले ‘थोरै संख्यामा’ एटीएसीएमएस (आर्मी ट्याक्टिकल मिसाइल प्रणाली) मिसाइलहरू प्राप्त गर्ने बताएको रिपोर्ट प्रकाशित गरेका छन् । दुई नेताबीच बिहीबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनले ३०० किलोमिटर लामो दुरीसम्म प्रहार गर्न सक्ने केही एटीएसीएमएस मिसाइलहरू प्राप्त गर्नेछ । यसले कीभलाई टाढासम्म रुसी लक्ष्यहरू प्रहार गर्न सक्षम बनाउने उनीहरूको भनाई छ।

शुक्रबार युक्रेनले क्राइमियामा रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीका अनुसार सेभास्टोपोल बन्दरगाहमा भएको आक्रमणमा बेलायत र फ्रान्सले आपूर्ति गर्ने स्टर्म छाया मिसाइलहरू प्रयोग गरिएको थियो । यस्ता क्षेप्यास्त्रको दायरा १५० माइलभन्दा बढी हुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको