ललितपुरमा महिला उद्यमी मेला- भदौ २० देखि २४ गतेसम्म हुँदै
साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रबार महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो ।
महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ । पत्रकार सम्मेलनमा महासङ्घका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकताबद्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।
महासचिव भुजेलले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल विस्तार गरी उद्यमशीलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवर्द्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले पाँच दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताउनुभयो ।
महासचिव भुजेलले प्रदर्शनीमा ७० वटा स्टल राखिने जानकारी दिनुभयो । उहाँले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताउनुभयो । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।
त्यस्तै, महासंघका सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन र महिला उद्यमीहरुको विकास संरक्षण गर्नका लागि मेलाको आयोजना गर्न लागेको बताउनुभयो । उहाँले बजारिकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले महिला उद्यमीहरुको विकास प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
सहअध्यक्ष पौडेलले मुलुक सङ्घीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरुले प्रत्येक प्रदेशमा एक/एक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गर्नुभयो । उहाँले सरकारले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने बताउनुभयो । उहाँले सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।
महासङ्घले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नका लागि उत्साहित देखिएको भन्दै ७० वटै स्टल बुक भइसकेको महासङ्घले जनाएको छ ।
प्रतिकृया दिनुहोस्