सुन तस्करी प्रकरण : वास्तविक सुनको तौल ६० किलो ७१६ ग्राम कायम

सुनको वास्तविक तौल ६० किलोग्राम ७१६ ग्राम कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैङ्कले जोखेको छ । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज (मङ्गलबार) टक्सार महाशाखामा गालिएको हो ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार गालेपछिको वास्तविक तौल ६० किलोग्राम ७१६ ग्राम कायम भएको हाे । यही साउन ३ गते बरामद सुनलाई नेपाल राष्ट्र बैङ्कले टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।

प्रमुख आचार्यले गालेपछि सुनका ३४ वटा बिस्केट बनेको बताउनुभयो । यस्तै, सुन पगाल्दा जर्ती ७३ ग्राम गएको उहाँको भनाइ छ ।अब सुनको गुणस्तर मापन गरिने जानकारी प्रमुख आचार्यले दिनुभयो । सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो ।

सुन तस्करीमा संलग्न आशङ्कामा १७ जना हिरासतमा छन् । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ ।