अरनिको राजमार्गअन्तर्गत धुलिखेल सडक विस्तारको काम तीव्र
काभ्रे- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्र रुपमा अगाडी बढेको छ ।
राजमार्गमा सवारीको चाप बढ्न थालेपछि तीन वर्षमा निर्माण कार्य सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो ।
प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म नै सडक छेउमा वाल निर्माणको काम तीब्र गतिमा भइरहेको छ । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार थालिएको हो ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक खण्ड चार लेनमा विस्तार गर्न थालिएको हो ।
सडक विस्तारको काम तीव्र रुपमा भइरहेको आयोजनाले जनाएको छ । सडक बिस्तार कार्य गर्दा सडक मापददण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भइरहेको छ ।
सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान हो ।
सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।
काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवातजावतका लागि यही सडक प्रयोग हुन्छ ।
संघिय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक समेत काठमाडौँ आउजाउ गर्दछन् ।
विभागका अनुसार कूल १५ दशमलव पाँच किलोमिटर सडक मध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडक खण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडक खण्ड भने ७.५ किमी रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।
प्रतिकृया दिनुहोस्