April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

नेपालमा सम्भव हुने उपचार विदेशमा गराउने भिभिआईपीको खर्च राज्यले बेहोर्दैन- मन्त्री बस्नेत

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा २०४६ साल पछाडि कुनै पनि भिभिआईपीहरुले उपचार गराएको रेकर्ड नभेटिएको बताएका छन् । वीरमा पहिलेदेखि नै भिआईपीका लागि एउटा र भिभिआईपीका लागि एउटा गरेर दुई वटा छुट्टै क्याविन भएपनि ०४६ सालपछि भिभिआईपी उपचारमा आएको रेकर्ड नभेटिएको बताएका हु्न् । पहिला–पहिला राजा महाराजाहरुले उपचार गराउने उक्त अस्पतालमा यति लामो समयदेखि कुनै भिभिआईपीले उपचार नगराएको भन्दै उनले आपत्ति जनाए ।

‘भिआईपीको लागि एक, भिभिआईपीका लागि एक गरी दुईवटा क्याविन वीर अस्पतालले धेरै अगाडिदेखि सञ्चालन गरेको थियो । यसमा ओपिडी सेवामा भिआईपीहरु आउनु भयो रे । तर, भिभिआईपीहरु आउनु भएको छैन । यहाँ चाहिँ उपचार गरेर यही हस्पिटलाईज भएर बस्ने गरी भिभिआईपीहरु ०४६ सालभन्दा पछि आउनु भएको रेकर्ड रहेन छ । हिजोका तत्कालीन राजा महाराजाहरु आउने, हाम्रा भिभिआईपीहरु नआउने ?’– उनले भने ।

अहिले भिभिआईपी र भिआईपीको उपचारको सन्दर्भमा सडकदेखि सदनसम्म आवाज उठ्ने गरेको बताउँदै उनले अब भिआईपी र भिभिआईपीले सम्भव रहेसम्मको उपचार नेपालकै अस्पतालमा गराउन पर्ने व्यवस्था ल्याइने उनले बताए । नेपालकै अस्पतालमा सम्भव हुने उपचार गराउन विदेश गए उक्त खर्च राज्यले नबेहोर्ने उनको भनाई छ ।

नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरहरु विभिन्न क्षेत्र र विभिन्न विधामा रहेको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले नेपालका विशेषज्ञ डाक्टरहरुसँग युरोप अमेरिकाका डाक्टरहरु पढ्न आउने गरेको बताए । नेपालका भिआईपी र भिभिआईपीहरुले कस्तुरीले विना थाहा नपाएर सुँघ्दै हिँडेजस्तो गरेको उनको आारोप छ ।

वीर हस्पिटलमा अहिले भिआईपीका लागि दुई वटा र भिभिआईपीका लागि एक वटा क्याविन थप गरिएको उनले बताए । अब नेपाम सम्भव हुने उपचार भिआईपी र भिभिआईपीले पनि यही गराउने पद्धतिको विकास हु्ने उनले विश्वास व्यक्त गरे ।

विभिन्न विधामा विशेषज्ञता हासिल गरेका १५ जना डाक्टरको टोली तयार गरिएको उनले बताए । यहाँ हुनसक्ने उचार यहाँ गर्न नमाने राज्यले त्यसको खर्च नबेहोर्ने उनले बताए । साथै सरकारी तथा निजी अस्पताल सबैले १० प्रतिशत बेड निःशुल्क गराएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको