June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

‘लम्पी स्किन’ असर पशुधनमा चालिस अर्बको क्षति

नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।

आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर धेरै थिएन। आव २०७८/७९ मा नौ जिल्लाका ११ पालिकामा देखियो। आव २०७९/८० सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएको छ। स्थानीय तह तथा प्रदेशबाट एकीकृत तथ्याङ्क सङ्कलन नहुँदा रोगले पारेको क्षतिको यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार मसान्तसम्म ७७ जिल्लाका सात लाख ९९ हजार ११७ पशु यो रोगबाट सङ्क्रमित छन् भने २८ हजार ४२४ पशु मरेका छन्। भैँसीको तुलनामा गाईगोरुमा धेरै सङ्क्रमण देखिएको छ र मर्नेमा पनि भैँसीको सङ्ख्या निकै कम छ।

यो त पशुको मृत्युको सङ्ख्या मात्रै हो। यसबाट किसानमा परेको मार र राज्यले बेहोर्ने आर्थिक भार बेग्लै छ। नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले लम्पीबाट असार मसान्तसम्ममा ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ रुपियाँको क्षति पु¥याएको जानकारी दिए। एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिएको उनले उल्लेख गरे।

पशु चकित्सकका अनुसार लम्पी लागिसकेपछि निको भए पनि उक्त पशुको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ। त्यसले पूर्ववत् जीवन जिउन र काम दिन सक्दैन। त्यसैले सङ्क्रमित भएको विवरणका आधारमा आर्थिक नोक्सानीको हिसाब निकालिएको हो।

लम्पी सङ्क्रमित पशुको एकीकृत र खण्डित तथ्याङ्क अझै आएको छैन। त्यसैले अर्थतन्त्रका अरू क्षेत्रमा पर्ने प्रभावको अनुमान मात्र गरिएको छ। दुध उत्पादन, कृषि उत्पादन र जीविकोपार्जनमा यसले पार्ने प्रभाव ठुलो छ। नेपालका लागि कोभिड–१९ का कारण पुगेको क्षतिकै हाराहारीमा यसको असर देखिने सम्भावना छ। गोरखापत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको