लम्पी स्किन रोग नियन्त्रणका लागि पचास लाख पशुलाई खोप दिनुपर्ने

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पशुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा टोली परिचालन गरिएको बताउनुभएको छ ।
सङ्क्रमित पशुको उपचार र निरोगी पशुलाई सङ्क्रमणबाट बचाउन खोप लगाउने अभियान चलाउने तयारी रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
एक महिनाको सङ्क्रमणको फैलावटलाई हेर्दा क्रमिक रूपमा घटेको देखिए पनि नयाँ ठाउँमा पुनः फैलिहाल्ने भएकाले समस्या थपिएको उहाँले बताउनुभयो । उहाँले सरकारको अहिलेको प्राथमिकता भनेकै खोप र उपचार रहेकाले तीन वटै तहको समन्वयमा सङ्क्रमण नियन्त्रणमा प्रयास गरिरहेको बताउनुभयो । उहाँले कम्तीमा ५० लाख पशुलाई सङ्क्रमणविरुद्ध खोप लगाउने अभियान चलाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
“समय लाग्छ कम्तीमा ५० लाख पशुलाई खोप लगाएपछि लम्पीलाई नियन्त्रणमा लिन सकिन्छ । त्यसका लागि तीन तहकै सरकारसँग समन्वय गरेर मात्रै अघि बढ्ने छौँ,” उहाँले भन्नुभयो । विद्यमान कानुनले क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेकाले कानुन बनाउने र बिमित पशु मरेका छन् भने क्षतिपूर्तिको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने उहाँले स्पष्ट पार्नुभयो ।
यो रोग अहिले ७७ जिल्लामा नै फैलिएको तर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रदेश र स्थानीय तहसँगको समन्वयमा उपचार तथा रोकथाममा केन्द्रित रहेर काम गरिरहेको उहाँले दाबी गर्नुभयो । मन्त्री भुसालले पशुसेवा विभागमा रहनुभएका सात जना सहसचिवलाई सातै प्रदेशमा पठाएर अध्ययन गर्दा सङ्क्रमणको आँकडा बढ्ने तथ्य आएकोे उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस्