February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने

गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीण स्थल मादने गाउँपालिका वडा नम्बर– १ अग्लुङ्गले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको साउन एक गतेदेखि लागू हुने गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ । आर्थिक हिसाबले विपन्न परिवारलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

‘घरको आर्थिक अवस्था कमजोर भएका परिवारलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको हो ।’ उहाँले भन्नुभयो, –‘आमा र बच्चाको स्वास्थ्य उच्च जोखिममा पारी घरमै सुत्केरी हुने समस्याको अन्त्यका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन हुँदा धेरै सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

आफूहरू नागरिकहरूको स्वास्थ्यप्रति सजग र गम्भीर रहेको बताउँदै त्यहाँ रहेको अग्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके छिमेकी जिल्ला प्युठानको बिजुवार लैजानुपर्छ । त्यहाँ पुग्न सवारी साधनमा झण्डै तीन घण्टाको यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो ।

सवारी साधन रिजर्भ गरेर लैजाँदा सात हजार रुपियाँ भन्दा बढी खर्च हुन्छ । अन्यत्र लैजानुपर्ने भएमा पनि वडा कार्यालयबाट यातायात खर्च उपलब्ध गराइने भएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको