
हेटौंडा, कोरोना सङ्क्रमण फैलन नदिन निषेधाज्ञा गरेपछि बन्द भएका हेटौंडाका पर्यटकिय होटललाई क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि त्यति प्रभावकारी नभएको देखिएको पाइएको छ ।
हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो । विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टाइन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।
होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिएका छन ।
उनले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टाइनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताएका छन ।
एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो । तीमध्ये बाथरुमसहितको प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा रहेका थिए ।







