December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

विप्लवलाई माओवादीमा भित्र्याएर शक्तिशाली बन्ने प्रचण्डको तयारी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल यतिवेला शक्ति सञ्चयको लागि सक्रिय बनेका छन् । आँफै सरकारको नेतृत्वमा रहेका दाहालले सत्ता गठबन्धनमा रहेका दुई दल र सत्ता बाहिर रहेको अर्को एक दलसँग मिलेर चार दलीय समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । कतिपयले दाहालको उक्त कदमलाई प्रतिरक्षाको कदम भनेका छन् ।

कतिपयले भने अरु दलले आन्तरिक संकट भोगेको कारण प्रचण्डले त्राण भरिदिएको भनेर पनि चर्चा गर्ने गरेका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र नेकपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ । अहिले मोर्चाको संयोजक प्रचण्ड आँफै छन् । समाजवादी मोर्चाको वकालत गर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने मोर्चामा समेटिएनन् ।

उनी नसमेटिनुमा उपेन्द्र यादवलाई देखाईएको छ । जुन कुरा स्वयम प्रधानमन्त्री प्रचण्डले पनि सार्वजनिक रुपमै स्विकारेका छन् । प्रधानमन्त्री दाहालको ध्यान भने बाबुरामभन्दा पनि विल्लवतर्फ छ । उनी विप्लव नेतृत्वको नेकपासँग एकताको गृहकार्यमा जुटेका छन् । दाहालको सचिवालयले पनि आज विप्लवसँग पार्टी एकताबारे प्रधानमन्त्री दाहालले छलफल गरेको पुष्टि गरेको छ।

पछिल्लो समय विप्लवले प्रधानमन्त्री दाहाललाई साथ दिँदै आएका छन् । माओवादी केन्द्रसँग एकता भए विप्लवलाई महासचिव बनाईने चर्चा छ । माओवादीमा यतिवेला देव गुरुङ महासचिव छन् । महासचिवमा दुई शक्तिशाली नेताहरु जनार्दन शर्मा र वर्षमान पुनले तिव्र चाहना राखेपछि दाहालले शर्मा र पुनमध्ये एक रोज्दा अप्ठ्यारो हुने भएकोले गुरुङलाई महासचिव बनाएका हुन्।

अहिले विप्लव माओवादीसँग एकताको लागि तयार भए महासचिव बनाउने दाहालको तयारी छ । पछिल्लो समय माओवादीहरुलाई एकताबद्ध बनाउने अभियानमा दाहाल जुटिसकेका छन् । यसको लागि दाहालको विश्वासपात्रको रुपमा कृष्णबहादुर महराले निर्णायक भूमिका खेलेका छन् । विप्लवसँग महरा नै निरन्तर सम्वादमा छन् । विप्लवमा जनताको पनि समर्थन रहेकोले प्रचण्डले उनको साथ खोजेको चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री दाहालले बाबुरामसँग पनि एकताको लागि गृहकार्य भैरहेको र अन्तिम रुप दिन बाँकी रहेको बताउने गरेका छन् । प्रचण्ड आगामी ०८४ को निर्वाचनमा ०६४ को निर्वाचनमा माओवादीले हासिल गरेको सफलता दोहोर्याउने चाहनामा छन् । त्यसको लागि फुटेर चारतिर छरिएका माओवादीहरुलाई गोलबद्ध गर्ने उनको उद्देश्य छ ।

माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रचण्ड र विप्लवबीच छिट्टै पार्टी एकताको घोषणा गर्ने सहमति बनेको छ । त्यसको लागि दुवै तर्फबाट अहिले गृहकार्य भैरहेको छ । प्रचण्डले विप्लवलाई नै आफूपछिको नेतृत्वको रुपमा विकास गर्न चाहेका छन् । त्यसको लागि उनले पार्टी एकतासँगै विप्लवलाई शक्तिशाली महासचिव बनाउने वचन दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको