November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

‘वान एक्स बेट’ को धन्दा,कलाकारले ५ देखि ४० लाख रुपैयाँसम्म लिए

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरूले ४० लाख रुपैयाँसम्म लिएको पाइएको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाख रुपैयाँसम्म लिएको स्वीकार गरेका छन् ।

पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाख रुपैयाँसम्म कमाइ गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले बताउनुभयो ।

गएकाे बिहीवार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भनिने बेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूले पैसा लिएको स्वीकार गरेका केसीले बताउनुभयो ।उनीहरूले कमिसनबापतको पैसा ‘वान एक्स बेट’ मार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरूलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा. केसीले बताउनुभयो ।

कलाकार एवम् युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले ‘अप्रेशन’ चलाएको थियो । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधवारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँ कारोबार गरेको फेला परेको थियो । एक जना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड रुपैयाँ कारोबार गरेको फेला परेको थियो । उनीहरूको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको