November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा नाम नै परिवर्तन

वीरगन्ज, जेठ २५ गते, इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मेट्रिक टन युरिया मल नेपाली गोदामसम्म आइपुग्दा मल उत्पादन मुलुकको इरान हटाएर ओमान राखिएको पाइएको हो ।

आतंकवादी क्रियाकलाप र सम्पत्ति शुद्धीकरण निवारण तथा आमविनाशकारी हतियारमा हुने वित्तीय लगानी रोकथाम गर्ने अन्तर्राष्ट्रिय संस्थाका रूपमा ‘एफएटीएफ’ले उत्तर कोरिया, म्यानमार र इरानलाई कालोसूचीमा राखेको छ । ती मुलुकका सामग्री नेपाल ल्याउनु वैधानिक मानिँदैन । मलको कारोबार गर्ने गिरोहसँगको मिलेमतो यसपालि इरानमा बनेको मलको बोरामा ओमानको नाम लेखेर ल्याइएको हो । यसरी मल ल्याउँदा राष्ट्र बैंकले भुक्तानी नरोकोस् भनेर त्यसो गरिएको खुलेको छ ।

नेपालका लागि आईपीएलले खरिद गरेको सो युरिया मल इरानबाट २३ र २७ वैशाखमा २७ हजार ४ सय ५८ टन बोकेको फर्चुन जहाज त्यहाँको अब्बासस्थित बन्दरगाहबाट छुटेको कागज सुरक्षित छ । मलमा भएको अवैध आर्थिक चलखेलबारे सरकारले भने केही नसुनेको सांसद ज्वालाकुमारी साह बताउँछिन् । आयातकर्ता र नेपाल सरकारको समेत मिलेमतोमा आईपीएलले नेपालका लागि प्रतिबन्धित मुलुक इरानबाट सस्तोमा मल खरिद गरेको पहिले नै सार्वजनिक भइसकेको हो ।

साल्ट ट्रेडिङले खरिद गरेको सो मल अहिले इरानबाट कोलकाता हुँदै बन्द अवस्थामा रहेको वीरगन्जस्थित नेसनल टे«डिङको गोदाममा भण्डारण गरिएको छ । त्यहाँ मलको फोटो खिच्न दिइँदैन । बोरा गणना गर्न बसेका नेपाली भाषा नबुझ्ने कर्मचारीले गोदाममा पुगेका सञ्चारकर्मीलाई क्यामेरा खोल्न पनि दिँदैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि मन्त्रालयको समेत कार्यभार सम्हालेका बेला साढे ७ अर्ब रकम साल्ट ट्रेडिङलाई उपलब्ध गराएको कुरा सांसद साहले सदनमै उठाएकी थिइन् । नीतिगत आधारमा ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषि मन्त्रालयले उपलब्ध गराउनुपर्ने रकम र जीटुजी प्रक्रियाबाट मल खरिद गरिनुपर्ने कुराको समेत उल्लंघन भएको भेटिएको छ ।

मल खरिदका लागि एक महिना लामो आफ्नो प्रक्रिया छोट्याई साल्ट ट्रेडिङले समेत हतारमा ११ दिनको अवधि कायम गरेको तथ्य भेटिएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको