पक्राउ परेका टोपबहादुर बालकृष्ण खाँणसँगै प्रहरी परिसरमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आज (आइतबार) एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

उनलाई आज साँझ बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी त्यहाँ आफ्नो पूरानो साथीको एक घरमा लुकेर बसेका थिए । पक्राउ परेका रायमाझीलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु ल्याईएको छ ।

रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन् । यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका छन् ।

रायमाझी पक्राउ पर्नुअघि १२ जना अभियुक्तहरुमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । रायमाझी पक्राउ परेसँगै यो प्रकरणमा अभियुक्तहरुको संख्या १३ पुगेको छ । अझै केहीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रामबहादुर थापाका छोरा प्रतिकलगायत केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।