April 15, 2024, Monday
२०८१ बैशाख ४, मंगलवार

आफैंले कार्यतालिका बनाउँदै, स्थगित् गर्दै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंले निर्माण गरेको कार्यतालिका आफैंले स्थगित् गरेका छन्।प्रधानमन्त्री प्रचण्डले सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना नेता तथा कार्यकर्ताहरु भेट्न आउनेको भीडभाड हुने र मन्त्रालयका काम प्रभावित हुन लागेको भन्दै केही समय अगाडि नेता तथा कार्यक्रतालाई भेट्न छुट्टै कार्यतालिका बनाएका थिए।

उनले आफ्ना नेता तथा कार्यक्रताहरुले आफ्ना मन्त्रीहरुलाई भेट्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा छुट्टाछुट्टै दिन छुट्टाछुट्टै मन्त्रीहरु पुग्नपर्ने कार्यतालिका निर्माण गरेका थिए।

उनले आइतबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सोमबार पर्यटन मन्त्री सुदन किराँती, मङ्गलबार सल्लाहकार र विज्ञसँग भेटघाट, बुधबार सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रबार प्रधानमन्त्री प्रचण्ड र शनिबार सञ्चारमन्त्री रेखा शर्मालाई बेलुका ४ बेजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा भेट्ने कार्यतालिका निर्माण गरेका थिए।तर, प्रधानमन्त्री प्रचण्डले सो कार्यतालिका स्थगित् गरेका छन्।

उनले अगामी वर्षको बजेट निर्माणमा ब्यस्त भएको भन्दै सो कार्यतालिका स्थगित् गरेका हुन्।सो कार्यतालिका जेठ १५ गतेसम्म स्थगित् भएको र सोपछि फेरि नियमित लागू हुने पार्टी सचिवालयले जनाएको छ।

‘अहिले बजेट निर्माण गर्ने चटारो छ। प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्ने कुराकानी गर्ने फुर्सद समेत छैन। त्यसैले जेठ १५ गतेसम्मका लागि भेटघाट बन्द गरेका छौं। अब जेठ १६ गतेदेखि नियमित कार्य तालिका बमोजिम भेटघाटलाई निरन्तरता दिन्छौँ,’ पार्टी सचिवालयका एक कर्मचारीले बताए।तर अतिआवश्यक काम भए प्रधानमन्त्रीलगायत मन्त्रीहरुलाई सिंहदबारमै गएर भेट्न सकिने पार्टी सचिवालयले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको