May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थको जालो,भुटानी शरणार्थी बनाएर अमेरिका

काठमाडौं, वैशाख २१। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थ कर्मचारी समेतको जालो बुनिएको खुलेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गर्ने गिरोहसँग नेतादेखि सरकारी उच्च पदस्थ समेतको जालो कसिएको हो ।

यस प्रकरणमा गिरोहसँगको जालोमा संलग्न रहेको पाइएपछि तत्कालीन गृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपगरी अनुसन्धान गर्न अनुमति दिएको छ । पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा राखिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गर्ने गिरोहसँग पाण्डेको मिलेमतो देखिएको प्रहरीको दाबी छ ।

यसअघि प्रहरीले पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई मंगलबार नै पक्राउ गरिसकेको थियो । राइलाई जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । राईले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीको दाबी छ ।

सोही प्रकरणमा पूर्व मन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र बादलका छोरा प्रतीक थापाका नाममा समेत वारेन्ट जारी गरिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट बुधबार पक्राउ पुर्जी लिएसँगै उनीहरूलाई पक्राउपुर्जी जारी गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । गैर कानुनी असुलीमा शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने र पक्राउ पुर्जी जारी भइरहेको ज्ञवालीको भनाइ छ ।

‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि उनीहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो’, ज्ञवालीले भने– ‘यसअघि पक्राउ परेकाहरूले उक्त ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए । सोही आधारमा थप अनुसन्धान गर्दा नेताहरूको संलग्नता देखिएको छ ।’ तत्कालीन गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरीको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको