June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बने सन्दीप लामिछाने

काठमाडौं, वैशाख १९, स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ ।प्रतियोगितामा नेपाललाई अपराजित राख्दै एसिया कपमा छनोट गराउन सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

यस प्रतियोगितामा अलराउन्डर प्रदर्शन गर्नुभएका सन्दीपले पाँच खेलमा १३ विकेट लिनुभयो । यस्तै उहाँले ब्याटिङमा समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । ब्याटिङमा पनि उहाँले ४२ रन बनाउनुभयो ।

यस प्रतियोगितामा युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान र ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिनुभयो । फाइनलमा ६७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएका गुलशन झा फाइनल खेलको ‘म्यान अफ दि म्याच’ चुनिनुभयो ।

नेपालले २१ वर्षपछि एसिया कप २०२३ मा स्थान बनाएको हो । एसिया कपमा नेपालले भारत र पाकिस्तान जस्ता बलियो देशसँग खेल्ने मौका पाउनेछ।आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् ।

यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेको छ । समूहको शीर्ष दुई टोली सपुर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको