November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

चीनसँग हतियार खरिद गर्ने तयारीपछि प्रधानमन्त्रीको भ्रमणबारे भारतले गर्यो बेवास्ता

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अनिश्चित् बनेको छ। प्रधानमन्त्रीको सचिवालयले यसअघि बैशाखको तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाने बताउँदै आएको भएपनि भारतले भने उनलाई स्वागत नगर्ने संकेत देखाएको छ । खासगरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीको लागि नै परराष्ट्रमन्त्रीमा एन.पी. साउदलाई नियुक्त गरिएको थियो ।

साउदले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालेका थिए । तर, भारतीय पक्षले भने प्रधानमन्त्री दाहाललाई स्वागत गर्न हतार नगर्ने संकेत गरेपछि अहिले साउदपनि त्यतातर्फ सक्रिय छैनन् ।

प्रधानमन्त्री दाहाललाई दिल्लीले स्वागत गर्न हतार नगर्नुको कारण भने नेपाली सेनाले ६ अर्व वरावरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गर्नु रहेको खुलेको छ । प्रधानमन्त्री दाहाल र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको जोडबलमा नै नेपाली सेनाले चीनबाट २६ एपिसी, ७२ थान ट्याक्टिकल भेईकल र आवश्यक गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यस्तै, सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल खरिदसमेत गर्न लागेको छ । यसको लागि पनि प्रक्रिया अघि बढाईएको समाचार आएका छन् ।

यस्तै, सेनाले आफ्नो कल्याणकारी कोषबाट भारतको महेन्द्रा कम्पनीबाट चार वटा एपीसी खरिद गर्न लागेको छ । यसको लागि पनि सेनाले आवश्यक प्रक्रिया थालिसकेको छ । महेन्द्राको एउटा एपीसीको मुल्य तीन करोड ९८ लाख पर्ने बताईएको छ । तर, चीनबाट ल्याउन लागेको एपीसीको मुल्य भने सात करोड ७५ लाख रहेको छ ।

भारतको तुलनामा चीनबाट ल्याउन लागिएको एपीसीको मूल्य भने झण्डै तीन करोड महँगो छ । हतियार खरिद प्रकरणले भारत चिढिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यसबारेमा चासो राखेको बुझिएको छ । सेनाको लागि आवश्यक हतियार खरिदको लागि यसअघि देउवाले नै प्रक्रिया अघि बढाएको बताईएको छ । अहिले भने भारतसँग हतियार खरिद नगरी चीनसँग गर्न लागिएकोमा देउवापनि रुष्ट रहेको स्रोतको दाबी छ । चीनसँग हतियार खरिद गर्न प्रधानमन्त्री दाहाल र रक्षामन्त्री खड्काबीच मात्रै आवश्यक छलफल भएको बताईन्छ ।

शीर्ष समाचार

धेरै पढिएको