राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको कम्पनीलाई विवरण प्रमाणीकरण गर्न दिने

काठमाडौं, वैशाख १५ गते। राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरण गर्न दिने तयारी गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसअघि तयार गरी कार्यान्वयनमा ल्याएको अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधिलाई सरकारले खारेज गरेपछि स्किमा टेक्नोलोजी प्रालिले यो मौका पाउन लागेको हो ।

स्किमा टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक प्रधानमन्त्री दाहालका आइटी विज्ञ प्रकाश रायमाझी हुन् । ‘प्रधानमन्त्री दाहालका आइटी विज्ञ रायमाझीकै कारणले कार्यविधि खारेज गरिएको हो,’ स्रोतले भन्यो, ‘लामो समयसम्म काम गर्न पाइने भएकाले यसमा आइटी विज्ञको राम्रो रुचि देखियो, जसरी पनि लिने र काम गर्ने उनको मनशाय छ। त्यो उद्देश्यका पछाडि राजनीतिक नेतृत्वको इच्छा पनि जोडिएको बुझ्न सकिन्छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल यो विषयमा कुनै निर्णय नगर्ने, सकभर निजी क्षेत्रको कुनै कम्पनीलाई अन्तरप्रणाली आबद्धतासम्बन्धी प्रमाणीकरण सहजीकरणको कार्य गर्न नदिने बताउँदै आएका छन् । आजको नागरिक दैनिकबाट