June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले आज एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ ।

२०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो ।

सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनु भएको थियो । रास्वपाका वाग्ले काँग्रेस छोडेर उम्मेदवार बन्नुभएको हो । काँग्रेसका तत्कालीन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको